समाचार
आर्थिक वर्ष २०८०/०८१ को प्रथम चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम
माण्डवी गाउँपालिकाले आ.व. २०८०/०८१ को प्रथम चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । गाउँपालिकाले आर्थिक वर्ष २०८०/०८१ को प्रथम चौमासिकमा सम्पादन गरेका कामको प्रभावकारिता तथा नागरिक सन्तुष्टि तथा गुनासो सुनुवाई गर्ने उदेश्यका साथ सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरिएको हो । माण्डवी गाउँपालिकाको आयोजना तथा रेडियो माण्डवीको सहजीकरणमा गाउँपालिका सभाहल देवीस्थानमा सोमबार सार्वजनिक सुनुवाई कार्यक्रम संचालन गरिएको हो ।
कार्यक्रममा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत प्रकाश पाण्डेले आर्थिक वर्ष २०८०/०८१ को हाल सम्म संचालन गरिएका योजना तथा सेवा प्रबाह बारे तयार पारिएको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सहजीकरण गर्ने निकाय रेडियो माण्डवीका कार्यकारी प्रमुख पदम सुवेदीले सुनुवाई कार्यक्रममा बहिर्गमित अभिमत तथा नागरिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
सहभागीहरुले गाउँपालिकाको समसामयिक गतिविधि, खानेपानी,सडक निर्माण लगायत अन्य विकास निर्माण, चिस्यान केन्द्र व्यवस्थापन, कृषिमा उत्पादित बस्तुको बजारीकरण, अनुदान कार्यक्रम, सेवा प्रबाह लगायत अन्य विषय बस्तुहरुमा जिज्ञासा, प्रश्न तथा सुझाव दिनुभएको थियो । सेवाग्राही तथा सहभागीहरुबाट सोधिएका प्रश्न र जिज्ञासाबारे गाउँपालिकाका अध्यक्ष नमराज अधिकारी र प्रमुख प्रशासकीय अधिकृत प्रकाश पाण्डेले स्पष्ट पार्नुभएको थियो ।
माण्डवी गाउँपालिकाका अध्यक्ष नमराज अधिकारीको अध्यक्षता तथा संविधान सभा सदस्य नारायण प्रसाद अधिकारीको प्रमुख आतिथ्यतामा संचालन भएको उक्त कार्यक्रममा उपाध्यक्ष पूर्ण प्रसाद कालाथोकी, वडा अध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य, गाउँपालिकाका पुर्व उपाध्यक्ष, पुर्व वडा अध्यक्ष, पुर्व वडा सदस्य, गाउँपालिका भित्र रहेका सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, सामाजिक संघ संस्थाका प्रमुख तथा प्रतिनिधि, बैंक तथा वित्तीय संस्थाका प्रमुख तथा प्रतिनिधि ,राजनैतिक दलका प्रमुख तथा प्रतिनिधि, कर्मचारी, शिक्षक, पत्रकार, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि, समाजसेवी, बुद्दिजिबि, ब्यापारी, होटल व्यवसायी लगाएत अन्य सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।
पत्रकार समशेर विक्रम जी.सी.ले संचालन गर्नुभएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष पूर्ण प्रसाद कालाथोकीले स्वागत मन्तब्य राख्नुभएको थियो ।


















