समाचार
उपभोक्ता समितिका पदाधिकारीहरुलाई क्षमता विकास सम्बन्धि अभिमुखीकरण कार्यक्रम
माण्डवी गाउँपालिकाले चालु आर्थिक वर्ष २०८०/०८१ मा उपभोक्ता समिति मार्फत सञ्चालन हुने योजना प्रभावकारी र गुणस्तरिय रुपमा सञ्चालन गर्न वडा स्तरमा उपभोक्ता समितिका पदाधिकारीहरुलाई अभिमुखिकरण कार्यक्रमको साथ साथै एकमुष्ट रुपमा योजनाको सम्झौता र बैंकको सहकार्यमा उपभोक्ता समितिको खाता संचालन गर्ने कार्यक्रम सञ्चालन गरेको छ ।
गाउँपालिकाले पालिका भित्रका ५ वटै वडामा गठित उपभोक्ता समितिलाई पुस ४ गते देखि यही पुस ११ गतेसम्म अभिमुखिकरणको साथ साथै योजना सम्झौता र उपभोक्ता समितीको खाता संचालन गर्ने कार्यतालिका अन्तर्गत आज वडा नं. २ को कार्यालय मर्कावाङमा विभिन्न योजनाका लागि गठित उपभोक्ता समितिलाई अभिमुखिकरण गरिनुका साथै वडा नं. २ मा संचालन गरिने योजनाका लागि गठित उपभोक्ता समितिका पदाधिकारीहरु अध्यक्ष, कोषाध्यक्ष र सचिव लगायतको उपस्थितिमा योजनाहरुको सम्झौता र हिमालयन बैंक लिमिटेड माण्डवी शाखाको सहकार्यमा उपभोक्ता समितीको खाता संचालन गर्ने कार्यक्रम सम्पन्न गरेको छ ।
अभिमुखीकरण कार्यक्रममा उपभोक्ता समितिको बैठक बस्दा उठाईने माईन्युटको खाका , काम सम्पन्न भई सामाजिक तथा सार्वजनिक लेखा परिक्षणका लागि गर्नुपर्ने निर्णयका खाका , सामाजिक तथा सार्वजनिक लेखा परिक्षण अनुमोदन गर्दा अनुगमनका लागि गर्नुपर्ने निर्णयका खाका, काम सम्पन्न भई योजना फरफारक गर्नका लागि गर्नुपर्ने निर्णयका खाका, उपभोक्ता समितिको काम, कर्तव्य र अधिकार लगायत अन्य महत्त्वपूर्ण बिषयमा जानकारी गरिएको थियो ।
यस्तै उपभोक्ता समितिले आयोजनाको नाम , योजना सम्झौताका लागि पेश गर्नुपर्ने कागजात तथा फरफारकका लागि पेश गर्नुपर्ने कागजात , डोर हाजिरी , आम्दानी तथा खर्च विवरण लगायत बिषयमा समेत जानकारी गराईएको थियोे ।
कार्यक्रममा वडा अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, योजना शाखा प्रमुख, कार्यपालिका सदस्य, वडा सदस्यहरू, प्राविधिक कर्मचारीहरु इन्जिनियर, सब इन्जिनियर, असिस्टेन्ट सब इन्जिनियरहरु लगायत उपभोक्ता समितिका पदाधिकारीहरुको उपस्थित रहेको थियो ।
योजनालाई चुस्त दुरुस्त बनाई गुणस्तरिय योजनासँगै स्तरिय कार्य सम्पादन गर्न र पदाधिकारीहरुलाई उपभोक्ता समितिको खाता संचालन कै लागि मात्र बैंकको शाखा कार्यालयसम्म पुग्नु पर्ने बाध्यता तथा कठिनाईलाई मध्य नजर गर्दै बैंकको सहकार्यमा बैंकका कर्मचारी र गाउँपालिकाका कर्मचारीहरुको उपस्थितीमा वडा स्तरमै खाता सञ्चालन गर्नका लागि कार्यक्रम सञ्चालन गरिएको हो ।
कार्यतालिका अनुसार पुस ५ गते वडा नं १ को कार्यालय तिराम, पुस ६ गते वडा वडा नं ३ को कार्यालय नयाँगाउँ, पुस ८ गते वडा नं ५ को कार्यालय रम्दी र पुस ११ गते वडा नं ४ को कार्यालय उदयपुरकोटमा रहेको छ ।