समाचार
चौथो राष्ट्रिय महिला अधिकार दिवस २०७९
माण्डवी गाउँपालिकाले चौथो राष्ट्रिय महिला अधिकार दिवस ‘महिलाको सम्मान: सभ्य समाजको पहिचान ’ भन्ने नाराका साथ शुभकामना आदान-प्रदान एवं महिला सहकारी स्तरीय हाजिर जवाफ प्रतियोगिता गरि मनाएको छ । उक्त हाजिर जवाफ प्रतियोगितामा भुवनेश्वरी महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड नयागाउँले प्रथम स्थान , एकता महिला बहुउदेशिया सहकारी संस्था लिमिटेड रम्दीले द्वितीय स्थान र उन्नति महिला बहुउदेशिया सहकारी संस्था लिमिटेड मर्कावाङ्गले तृतीय स्थान हासिल गरेको छ ।
महिला अधिकारको क्षेत्रमा भएका विभिन्न चार उपलब्धिलाई आधार मानेर सरकारले हरेक वर्ष जेठ १६ गतेलाई राष्ट्रिय महिला अधिकार दिवसको रुपमा मनाउने निर्णय गरेपछि २०७६ सालदेखि यो दिवस मनाउन लागिएको हो । आमा वा बुवामध्ये एकजनाको नामबाट पनि नागरिकता, कम्तीमा एक तिहाइ महिलालाई राज्यका सबै संरचनामा सहभागिताको सुनिश्चितता, विभेदकारी कानूनको खारेजी र महिलाप्रति हुने हिंसा अन्त्य गर्ने कुरालाई मुख्य चार उपलब्धीको रुपमा लिइएको छ । माण्डवी गाउँपलिका अध्यक्ष श्री नमराज अधिकारी ज्यू को अध्यक्षतामा संचालन भएको उक्त कार्यक्रममा गाउँपालिका उपाध्यक्ष, वडा अध्यक्ष, गाउँपालिकाका पुर्व उपाध्यक्ष, विषयगत शाखाका कर्मचारी, गाउँपालिका स्तरीय महिला संजालका अध्यक्ष तथा प्रतिनिधि, बिभिन्न महिला सहकारीका सदस्य लगायत अन्य सरोकारवालाहरुको उपस्थिति रहेको थियो । उक्त कार्यक्रमको संचालन माण्डवी गाउँपालिकाका महिला, बालबालिका तथा समाजकल्याण शाखाका शाखा प्रमुख सिता गौतमले गर्नु भएको थियो ।