समाचार
प्यूठान जिल्ला अन्त्तरपालिका स्तरीय न्यायिक समितिको चौथो बैठक
माण्डवी गाउँपालिका, प्यूठानको आयोजनामा स्थानीय तहका उपप्रमुख/उपाध्यक्षहरु संयोजक रहेको प्यूठान जिल्ला अन्त्तरपालिका स्तरीय न्यायिक समितिको चौथो बैठक भदौ १९ गते सम्पन्न भएको छ । हरेक महिनामा न्यायिक समितिका संयोजकहरुले आ–आफ्नो पालिकामा आएको उजुरी तथा न्याय सम्पादनको विषयमा भोगेका भोगाईहरु एक अर्कामा जानकारी गराउने तथा सिकाई आदान प्रदान गर्ने उद्देश्यले बैठकको आयोजना गर्ने गरिएको हो ।
माण्डवी गाउँपालिका वडा नं. ३ जस्पुरस्थित गाउँपालिका कार्यालयमा अन्त्तरपालिका स्तरीय न्यायिक समितिको बैठकले न्यायिक समितिको प्रथम लुम्बिनी प्रादेशिक सम्मेलन प्यूठान जिल्लामा आयोजना गर्न पहल गर्ने मुख्य निर्णय गर्नुका साथै समितिको प्रथम जिल्ला सम्मेलनले जारी गरेको गौमुखी घोषणा पत्र कार्यन्वयन गर्ने निर्णय गरेको छ । बैठकमा अन्तरपालिका स्तरीय बैठकले अन्तरपालिकामा भएका सिकाई उपलब्धिको आदान प्रदान, न्यायिक समितिका पदाधिकारीहरु र कर्मचारीहरुको क्षमता अभिबृद्धिमा पारेको सकारात्मक प्रभाव बारेमा छलफल गरिएको थियो ।
९ वटै स्थानीय तहका न्यायिक समितिका संयोजक र न्यायिक समिति हेर्ने कर्मचारीहरुको उपस्थिति रहेको बैठकको अध्यक्षता माण्डवी गाउँपालिकाका उपाध्यक्ष तथा न्यायिक समिति संयोजक पूर्ण प्रसाद कालाथोकी ज्यूले गर्नुभएको थियो भने प्रमुख अतिथि माण्डवी गाउँपालिकाका अध्यक्ष श्री नमराज अधिकारी ज्यू रहनु भएको थियो । बैठक अघि गाउँपालिकाका अध्यक्ष नमराज अधिकारी र उपाध्यक्ष पूर्ण प्रसाद कालाथोकी ज्यूले सबै उप–प्रमुख/उपाध्यक्षहरुलाई गाउँपालिका कार्यालयमा स्वागत गर्नु भएको थियो ।
माण्डवी गाउँपालिकाका सहायक महिला विकास निरिक्षक श्री सिता गौतमले गाउँपालिकाले न्यायिक क्षेत्रको विषयमा तयार पारिएको न्यायिक कार्य प्रगति सम्बन्धि कार्य पत्र प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमको संचालन माण्डवी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री प्रकाश पाण्डे ज्यूले गर्नु भएको थियो । समितिको आगामी बैठक असोजमा ऐरावती गाउँपालिका, प्यूठानमा बस्ने निर्णय भएको छ ।