समाचार
माण्डवी गाउँपालिकाको १५ गाउँसभा अधिवेशन सम्पन्न
माण्डवी गाउँपालिका जस्पुर, प्यूठानको १५ औं गाउसभा एवं हिउदे अधिवेशन मंगलबार सम्पन्न सम्पन्न भएको छ। पुष २९ गते देखि सुरु भएको अधिवेशन फागुन १५ गते सम्पन्न भएको हो ।
१५ औं गाउसभा एवं हिउदे अधिवेशनको तेश्रो बैठकमा स्थानीय शिक्षा ऐन २०८०, स्वास्थ्य सेवा ऐन २०७८ पहिलो संशोधन¸ गाउँपालिकाको संस्था दर्ता ऐन २०७८ को पहिलो संशोधन, बालविकास केन्द्रको नाम परिवर्तन तथा कक्षा थप घट, सुन्य समय र उत्कृष्ट कर्मचारी पुरस्कृत सम्बन्धी कार्यसूची रहेको थियो ।
सभामामा गाउँपालिकाको स्थानीय शिक्षा ऐन २०८०, प्रमुख प्रशासकीय अधिकृत श्री प्रकाश पाण्डेले प्रस्तुत गर्नुभएको थियो भने, स्वास्थ्य सेवा ऐन २०७८ पहिलो संशोधन र बालविकास केन्द्रको नाम परिवर्तन तथा कक्षा थप घट सम्बन्धी प्रस्ताव सामाजिक विकास समितिका संयोजक श्री प्रकाश वलीले प्रस्तुत गर्नुभएको थियो । त्यस्तै गाउँपालिकाको संस्था दर्ता ऐन २०७८ को पहिलो संशोधन आर्थिक विकास समिति संयोजक श्री डिल बहादुर घर्तीले प्रस्तुत गर्नुभएको थियो । सुन्ने समयमा सभाका सदस्यहरुलाई ३ मिनेटको समय उपलब्ध गराएर आफ्ना भनाईहरु राख्न दिईएको थियो । पेश भएका सम्पूर्ण प्रस्तावहरु सर्वसम्मत रूपमा पारित गर्दै अधिवेशन सम्पन्न भएको हो ।
सभाले कार्यसम्पादनको मुल्यांकन तथा योगदानको कदर गर्दै उत्कृष्ट कर्मचारीको रुपमा इन्जिनियर हेमराज बस्नेत, सूचना प्रविधि अधिकृत अनिल अधिकारी, सी.अ.हे.व नारायण जी.सी, खा.पा.स.टे कमल योगी, एम.आई .एस अपरेटर खिम बहादुर घर्ति, ना.प.से.प्रा कौशल अधिकारी, कार्यालय सहयोगी रुक बहादुर अधिकारी क्षेत्री, कार्यालय सहयोगी सुष्मा थापा र गाउँ प्रहरी जवान दिपक थापा सहित ९ जना कर्मचारीहरुलाई नगद पुरस्कार र प्रमाण पत्रका साथ दोसल्ला ओढाई सम्मान गरेको थियो ।
गाउँपालिकाका अध्यक्ष नमराज अधिकारीको अध्यक्षतामा सम्पन्न भएको अधिवेशन प्रमुख प्रशासकीय अधिकृत प्रकाश पाण्डेले संचालन गर्नु भएको थियो । सभामा गाउँपालिकाका उपाध्यक्ष, ५ वटै वडाका वडाध्यक्षहरु, जनप्रतिनिधिहरु, गाउँपालिकामा कार्यरत कर्मचारीहरु लगायतको सहभागिता रहेको थियो । सभाका अध्यक्षले अधिवेशन अन्त्य भएको पत्र सुनाउनु भएको थियो ।