समाचार
१५ शैयाको अस्पताल भवनको शिलान्यास कार्यक्रम
लुम्बिनी प्रदेश सभा सदस्य माननीय श्री कृष्णध्वज खड्काले माण्डवी गाउँपालिका वडा नं ३, देविस्थानमा १५ शैयाको अस्पताल भवनको शिलान्यास गर्नुभएको छ ।
ग्रामिण क्षेत्रमा आधारभूत स्वास्थ्य सेवा पुर्याउन सरकारले स्वास्थ्य संस्था नभएका ६४९ वटा स्थानीय तहमध्ये पहिलो चरणमा ५, १० र १५ शैय्याका ३९६ वटा आधारभूत अस्पतालको शिलान्यास गर्न लागेको हो ।
‘सरकारले स्वास्थ्यको क्षेत्रमा आमूल परिवर्तन ल्याउने योजनाका साथ स्थानीय तहमा अस्पताल भवनको सिलान्यास गरिएको प्रदेश सभा सदस्य खड्काले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘अब कुनै पनि नागरिकले उपचार नपाएर अकालमा ज्यान गुमाउनुपर्दैन । यसका लागि गाउँमै आधारभूत उपचार सेवाको शुरुवात गरिएको छ ।
आज शिलान्यास हुने अस्पतालहरु दुई बर्ष भित्र निर्माण सम्पन्न भई सञ्चालनमा आउने बताइएको छ । त्यसका लागि अर्थ मन्त्रालयले आवश्यक बजेट सुनिश्चित गरिसकेको छ ।
उक्त कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख, माण्डवी गाउँपालिकाका अध्यक्ष, शिक्षा समन्वय इकाई प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, जिल्ला स्तरीय पार्टी प्रतिनिधि , माण्डवी गाउँपालिका ने.क .पा अध्यक्ष, वडा अध्यक्ष, वडा सदस्य , सुरक्षा निकायका प्रतिनिधि, पत्रकार, विभिन्न शाखाका कर्मचारी लगायत विभिन्न सरोकारवाला हरुको उपस्थित रहेको थियो । कार्यक्रमको संचालन माण्डवी गाउँपालिकाका स्वास्थ्य संयोजक ध्रुव कुमार पोख्रेलले गर्नुभएको थियो |