समाचार
आगामी आ.व २०८३/०८४ को नीति तथा कार्यक्रम र बजेट प्रस्तुतीकरण
माण्डवी गाउँपालिकाले आगामी आर्थिक वर्ष ०८३/८४ का लागि नीति तथा कार्यक्रम र बजेट गाउँसभाबाट पारित गरेको छ । गाउँपालिका अध्यक्ष नमराज अधिकारीले गाउँ सभाको २० औं अधिवेशनमा प्रस्तुत गर्नु भएको नीति तथा कार्यक्रम सर्वसम्मतीले पारित भएको हो ।
नीति तथा कार्यक्रममा कृषि उत्पादन वृद्धि, रोजगार सिर्जना, पूर्वाधार विकास, शिक्षा सुधार, स्वास्थ्य सेवा विस्तार तथा खेलकुद क्षेत्र, शुशासन तथा संस्थागत विकासलाई समेटिएको छ।
सभामा गाउँपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि ४४ करोड ५१ लाख ४० हजार १ सय ३० रूपियाँको बजेट पनि सार्वजनिक गरेको छ। गाउँपालिका उपाध्यक्ष पूर्ण प्रसाद कालाथोकीले गाउँ सभाको २० औँ बजेट अधिवेशन मार्फत उक्त बजेट प्रस्तुत गर्नुभएको हो।
बजेटमा सङ्घीय वित्तीय समानीकरण अनुदानतर्फ ७ करोड ९० लाख रुपैयाँ, प्रदेश वित्तीय समानीकरणतर्फ ५१ लाख १ हजार रुपैयाँ, सङ्घीय सशर्त अनुदानतर्फ १७ करोड ६६ लाख रुपैयाँ प्रदेश सशर्त अनुदान तर्फ ८० लाख तथा अन्य विभिन्न अनुदान र राजस्व स्रोतहरू समावेश छन्। गाउँपालिकाले आगामी वर्ष आन्तरिक राजश्व ९८ लाख ४४ हजार ७ सय ८८ रूपियाँ सङ्कलन हुने अनुमान गरेको छ।
त्यसैगरी, सङ्घीय राजस्व बाँडफाँडबाट ८ करोड १० लाख रुपैयाँ, प्रदेश राजस्व बाँडफाँडबाट ८९ लाख ३० हजार रुपैयाँ, संघीय विशेष अनुदानबाट १ करोड रुपैयाँ तथा समपूरक अनुदानबाट १ करोड ७० लाख रुपैयाँ र प्रदेश विशेष अनुदानबाट २२ लाख रुपैयाँ तथा समपुरक अनुदानबाट ७५ लाख रुपैयाँ रकम प्राप्त हुने प्रक्षेपण गरिएको छ।
गाउँपालिकाले आगामी वर्षका लागि शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, युवा तथा खेलकुद क्षेत्रलाई प्राथमिकतामा राख्दै बजेट विनियोजन गरेको जनाएको छ ।
गाउँपालिकाले सीमित स्रोत–साधनका बाबजुद स्थानीय आवश्यकता र जनअपेक्षालाई केन्द्रमा राखेर बजेट तर्जुमा गरिएको छ । आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनमार्फत कृषि उत्पादन वृद्धि, खेलकुद पूर्वाधार विकास, स्वास्थ्य सेवाको पहुँच विस्तार तथा शिक्षाको गुणस्तर सुधारमा उल्लेखनीय उपलब्धि हासिल गर्ने लक्ष्य गाउँपालिकाले लिएको छ।



