समाचार
डेंगु तथा स्क्रब टाइफस रोग नियन्त्रण तथा रोकथामका लागि सरोकारवालाहरु बीच छलफल तथा अन्तरक्रिया कार्यक्रम
माण्डवी गाउँपालिकाको आयोजनामा आइतबार गाउँपालिका सभाहल देवीस्थानमा डेंगु तथा स्क्रब टाइफस रोग नियन्त्रण तथा रोकथामका लागि सरोकारवालाहरु बीच छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
देशका विभिन्न भागमा भयावहरुपमा फैलिएको डेंगु नियन्त्रणका लागि स्थानीय स्तरबाटै प्रभावकारी काम गर्नका लागि सरोकारवालाहरुलाई नेपालमा डेंगुको अवस्था,डेंगु रोगको परिचय, रोगका लक्षण, बच्ने उपाय, नेपालमा डेंगु रोग नियन्त्रण तथा व्यवस्थापनमा संचालन भएका क्रियाकलापहरु, डेंगु रोग नियन्त्रणमा सरोकारवालाहरुको भूमिका बारेमा जानकारी दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । माण्डवी गाउँपालिका अध्यक्ष नमराज अधिकारीको अध्यक्षता तथा जिल्ला समन्वय समिति प्यूठानका प्रमुख धरम बहादुर जी.सी.को प्रमुख आतिथ्यता र प्रमुख जिल्ला अधिकारी मदन कोईरालाको विशेष आतिथ्यतामा कार्यक्रम भएको हो ।
माण्डवी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख ध्रुव कुमार पोख्रेलले सहजीकरण गरेको अन्तरक्रियामा स्थानीयले आफ्ना घर वरपर सफा राख्ने, भाडा कुडामा पानी जम्न नदिने हो भने मात्रै पनि डेंगु नियन्त्रण हुने बताउनुभयो ।
आफ्ना घरवरिपरी लामखुट्टे मार्ने औषधि छर्कन, शरीर पूरै ढाक्ने कपडा लगाए, झुल लगाएर सुत्न , लामखुट्टे भगाउने धुप प्रयोग गर्न, सरसफाईमा विशेष ध्यान दिन, पानी जम्मा गर्ने भाडाकुडामा कम्तिमा हप्तामा एकपटक सफा गर्न तथा घर वरिपरी पानी जम्ने खाल्डाखुल्डी पुर्न समेत उहाँले सवैमा आग्रह गर्नुभयो ।
कार्यक्रममा वर्द बहादुर गणका प्रमुख सेनानी रमेश थापा , प्रहरी नायब उपरिक्षक सुभाष खड्का, सहायक प्रहरी नायब उपरिक्षक नविन कुमार अग्रहरी, प्रमुख अनुसन्धान अधिकृत देवेन्द्र कुमार थापा, माण्डवी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत प्रकाश पाण्डे लगायत ५ वटै वडाका जनप्रतिनधिहरु, गाउँपालिका स्थित सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरु, गाउँपालिका अन्तर्गत रहेका विद्यालयका प्रध्यानाध्यापकहरु , स्वास्थ्य संस्था प्रमुखहरु, उद्योग वाणिज्य संघ माण्डवी बजार इलाकाका प्रतिनिधि, होटल व्यवसायी संघ माण्डवी बजार इलाकाका प्रतिनिधि, नेपाल रेडक्रस, पत्रकार, कर्मचारीहरु लगायत अन्य सरोकारवालाहरुको सहभागिता थियो ।