समाचार
आर्थिक वर्ष २०७९–०८० को दोश्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न
माण्डवी गाउँपालिका, प्यूठानले आर्थिक वर्ष २०७९–०८० को दोश्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ ।
गाउँपालिका सभाहल देवीस्थानमा आईतबार उक्त कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा गाउँपालिकाले भए गरेका विभिन्न कामहरुका वारेमा नागरिकलाई जानकारी गराएको थियो । साथै ससहभागीहरूबाट सुझाव समेत संकलन गरिएको थियो ।
माण्डवी गाउँपालिका अध्यक्ष नमराज अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष पूर्ण प्रसाद कालाथोकि ,प्रमुख प्रशासकीय अधिकृत प्रकाश पाण्डे, गाउँपालिकाका विभिन्न वडाका वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु, वडा सदस्यहरू, गाउँपालिकाका विषयगत शाखाका कर्मचारीहरु, विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, पत्रकार, नागरिक समाज, बुद्धिजीवी, साझेदारी संस्थाका प्रमुख तथा प्रतिनिधि स्थानीयबासी लगायत अन्य सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।
प्रमुख प्रशासकीय अधिकृत प्रकाश पाण्डेले गाउँपालिकाले सम्पन्न गरेका कामहरुका वारेमा गरेको प्रस्तुतीकरण पश्चात स्वर्गद्धारी विकास केन्द्र प्यूठानको सहजीकरणमा भएको सार्वजनिक सुनुवाईमा सहभागीहरुले जिज्ञाशा राखेका थिए। साथै उक्त सार्वजनिक सुनुवाईमा स्वर्गद्धारी विकास केन्द्रले गाउँपालिकाका विभिन्न वडाहरुमा गरिएको स्थलगत अध्ययन मार्फत संकलन गरेको सेवाको सन्तुष्टी ,सेवाको नियमितता ,सेवाको गुणस्तर आदि विषयमा उठेका प्रश्नहरुको जवाफ गाउँपालिका अध्यक्ष, उपाध्यक्ष , प्रमुख प्रशासकीय अधिकृत लगायतले जवाफ दिनुभएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्षले माण्डवी गाउँपालिकाको विकास र समृद्धिका लागि सबैसँग हातेमालो गरेर गाउँपालिकालाई अगाडि बढाउन अग्रसर रहेको बताउनु भएको थियो । उँहाले सेवाग्राहीले उठाएका जिज्ञासा, सल्लाह, सुझाव अनुसार नै गाउँपालिका अघि बढ्ने बताउँदै गाउँपालिका भित्रका जुनसुकै विषयमा जुनसुकै विषयमा समस्या गुनासो भएमा वडाध्यक्ष, कर्मचारीहरु तथा अध्यक्ष, उपाध्यक्षलाइ भेट्न सक्ने जानकारी गराउनु भएको थियो। गाउँपालिकाबासीले उठाएका विषयबस्तुलाई संवोधन गर्न गाउँपालिका सदैव तयार रहेको समेत उहाँले बताउनु भयो । कार्यक्रमलाइ सम्बोधन गर्दै गाउँपालिका उपाध्यक्षले विकास आयोजनाहरुको प्रभावकारी ढंगले अनुगमनको काम भइरहेको जानकारी गराउदै जनताको सेवा, विकास निर्माणमा सधैं तत्पर भए अगाडि बढ्ने बताउनु भयो ।
कार्यक्रममा साझेदार संस्था फूलबारी एकीकृत ग्रामीण विकास संस्थाको माण्डवी गाउँपालिकामा संचालित PERCAV परियोजना अन्तर्गत गाउँपालिकामा रहेका नीति तथा कार्यविधिहरुको कार्यान्वयन अवस्था विषयक कार्यक्रममा जिल्ला पत्रकार महासंघ प्यूठानले तयार पारेको महासंघका अध्यक्ष सञ्जय रिजाल प्रस्तुत गर्नुभएको थियो । पत्रकार शसिधर भण्डारीले उक्त कार्यक्रमको सञ्चालन गर्नुभएको थियो ।